मेसीले जिते फिफाको बेस्ट खेलाडी अवार्ड

फिफाको सन् २०१९ को बेस्ट खेलाडीको अवार्ड लियोनेल मेसीले जितेका छन् ।

मेसीले लिभरपुलबाट खेल्ने नेदरल्याण्डसका डिफेन्डर भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यस बर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् ।



मेसीले गत सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए । उनले गत सिजनमा खेलेका ५० खेलमा ५१ गोल गरेका थिए ।

मेसीले कुल ४६ अंक पाउदै शिर्ष स्थानमा रहेर बेस्ट खेलाडीको अवार्ड जिते भने भान डाइकले ३८ अंक पाए भने रोनाल्डोले ३६ अंक पाएका थिए ।

बेलुन डो अरबाट अलग भएर फिफाले बेस्ट अवार्ड दिन थालेको यो चौथो बर्ष हो । यस अघि सन् २०१६ र २०१७ मा लगातार दुई पटक रोनाल्डोले यो अवार्ड जितेका थिए भने २०१८ मा लुका मोड्रीचले यो अवार्ड जितेका थिए ।

मेसीले यस अघि २००९, २०१०, २०११, २०१२ र २०१५ मा बेलुन डो अर जितेका छन् भने उनले फिफाको बेस्ट अवार्ड पहिलो पटक जितेका छन् ।

त्यस्तै रोनाल्डोले २००८, २०१३ र २०१४ मा बेलुन डो अर जितेका छन् भने २०१६ र २०१७ मा फिफाको बेस्ट अवार्ड जितेका छन् ।

दोस्रो स्थानमा रहेका भान डाइकले लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए । त्यस्तै रोनाल्डोले गत बर्ष युभेन्टसलाई सिरी ए जिताउनुका साथै पोर्चुगललाई युइएफए नेसन्स कप जिताएका थिए । रोनाल्डोले गत सिजनमा कुल ४३ खेल खेल्दै २८ गोल गरेका थिए ।

फिफाको वेस्ट बर्ष खेलाडीको छनौट फिफामा आवद्ध सबै देशका राष्ट्रिय कोच र कप्तान तथा क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनौट भएका एक विशेषज्ञ पत्रकार तथा फिफा डट कममा विश्वभरका फुटबल फ्यानहरुले मतदान गरेर छनौट गरिएको फिफाले जनाएको छ ।

सम्बन्धित समाचार