‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ पनि रिलिज (भिडियाे सहित)

यसवर्षको विजय दशमीले नेपाली घरमा प्रवेश गरिसकेको छ । किनकी हिजो आइतबारका दिन नेपालीहरुले घटस्थापनाको दिन जमरा राखिसकेका छन् । नेपालीहरु चाडपर्वको मुडमा रहँदै गर्दा नेपाली फिल्म ’च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

सार्वजनिक पहिलो गीत ’सिल्की सिल्की’ बालको सफलतापछी यतिबेला दोस्रो गीत ‘जवानी’ सार्वजनिक गरेको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएकी छिन् । केही दिन अगाडि बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार गीतलाई आकर्षक देखाउन निर्माण पक्षले केही सम्झौता गरेको छैन ।



गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाइ समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ दिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ ।

फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

सम्बन्धित समाचार