पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल ६७ रनले जितेको छ ।
गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछाएको श्रीलंकाले ४६।५ ओभरमा २३८ रन बनाउदा अलआउट भएपछि पाकिस्तान ६७ रनले विजयी भएको हो ।
श्रीलंकाका लागि शेहन जयसूर्याले ९६ रन बनाएका थिए भने दसुन शंकले ६८ रन बनाए । वानिंद डि सिल्भाले ३० रन बनाए भने दनुस्का गुनाथिलाकाले १४ रन बनाएका थिए ।
शुरुवाती ५ विकेट २८ रनमा गुमाएको श्रीलंकाका जयसूर्या र शंकबीच छैठौ विकेटको लागि १७७ रनको साझेदारी गरेका थिए ।
पाकिस्तानका बलर उसमान शिनवारीले ५ विकेट लिएका थिए भने षडाब खानले २ विकेट लिएका थिए । त्यस्तै मोहमद आमिर, इमाद वाशिम र वहाव रियाजले एक एक विकेट लिए ।
यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनाएको थियो । पाकिस्तानका लागि बबर आजमले ११५ रन बनाए । आजमले आफ्नो ११औ शतक प्रहार गर्दै पाकिस्तानलाई बलियो अवस्थामा लगेका थिए ।
त्यस्तै फखर जमानले ५४, हरिस सोहेलले ४०, इफ्तिखार अहमदले ३२ र इमाम उल हकले ३१ रन बनाएका थिए ।
५ विकेट लिएका पाकिस्तानका बलर उसमान शिनवारी खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
पहिलो खेल बर्षाले रद्ध भएको यस सिरिजमा पाकिस्तान १–० ले अगाडी भएको छ । अब तेस्रो तथा अन्तिम खेल बुधबार हुने छ ।