दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजमा २-० ले अगाडी भएसँगै टेस्ट च्याम्पियनसिपमा भारत अपराजित रहेको छ ।
भारतले अहिलेसम्मका ४ टेस्ट जितेर टेस्ट च्याम्पियनसिपमा २ सय अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । साथै अहिलेसम्म खेलिएका टेस्टमा भारत एक मात्र अपराजित टिम समेत बनेको छ ।
भारतले यस अघि टेस्ट च्याम्पियनसिप अन्तर्गत वेस्टइन्डिजलाई २-० ले पराजित गरेको थियो ।
त्यस्तै टेस्ट च्याम्पियनसिपको अंक तालिकामा न्युजील्याण्ड र श्रीलंका ६०-६० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अस्ट्रेलिया र इङल्याण्ड ५६-५६ अंकसहित चौथो र पाँचौ स्थानमा रहेका छन् ।
त्यस्तै वेस्टइन्डिज र दक्षिण अफ्रिका अहिलेसम्म २-२ खेल खेलेपनि अंक विहिन रहेका छन् भने बंगलादेश र पाकिस्तानले भने टेस्ट च्याम्पियनसिपअन्तर्गत अझै कुनै खेल खेलेका छैनन् ।
के हो टेस्ट च्याम्पियनसिप ?
आइसीसीले टेस्ट क्रिकेटलाई प्रतिष्पर्धी बनाउन टेस्ट च्याम्पियन्सिप शुरु गरेको छ । टेस्ट च्याम्पियन्सिप अन्तर्गतको टेस्ट मान्यता पाएका १२ देश मध्ये ९ देशले भाग लिदै छन् ।
टेस्ट खेलिरहेका अस्ट्रेलिया, भारत, इङल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजील्याण्ड, वेस्टइण्डिज, श्रीलंका र बंगलादेशले टेस्ट च्याम्पियनसिपमा खेल्दै छन् । त्यस्तै टेस्ट मान्यता पाएका जिम्बाबे, आयरल्याण्ड र अफगानिस्तानलाई भने यो प्रतियोगिताबाट बाहिर राखिएको छ ।
२०१९ अगष्ट १ बाट शुरु भएर २०२१ जुनमा टेस्ट च्याम्पियनसिपको फाइनल खेलिने छ । आइसीसीले यस अघि सन् २०१३ र २०१७ मै टेस्ट च्याम्पियनसिपको अवधारणा शुरु गर्न खोजे पनि अन्ततस् अब शुरु हुने भएको छ ।
टेस्ट क्रिकेटको विश्वकप भनिएको यस च्याम्पियनसिपमा खेलिने खेल तालिका भने अलमल हुने खालको रहेको छ । नत यसमा सबै टिमले सबै टिमसँग खेल्छन नत सबैले बराबर खेल खेल्छन । यस च्याम्पियनसिपमा सबै भन्दा धेरै खेल इङल्याण्डले २२ खेल खेल्ने छ भने अस्ट्रेलियाले १९ खेल खेल्ने छ । त्यस्तै भारतले १८, दक्षिण अफ्रिकाले १६, वेस्टइन्डिजले १५, न्युजील्याण्ड र बंगलादेशले १४(१४, त्यस्तै पकिस्तान र श्रीलंकाले १३(१३ खेल खेल्ने छन् ।
अंक पाउने तरिका :
टेस्ट च्याम्पियनसिपमा २, ३,४ र ५ खेलका सिरिज हुने छन् । जसमा अधिकतम अंक १२० हुने छ । जसमा २ खेलको सिरिजमा खेल जित्ने टिमले ६० अंक हासिल गर्ने छ भने खेल टाई भएमा ३० अंक र खेल ड्र भएमा २० अंक पाउने छ ।
त्यस्तै ३ खेलको सिरिजमा खेल जितेमा ४० अंक, टाई भएमा २० अंक र ड्र भएमा १३।३ अंक हासिल गर्ने छ । त्यस्तै चार खेलको सिरिजमा खेलमा जितेमा ३० अंक, टाई भएमा १५ अंक र ड्र भएमा १० अंक पाउने छ । त्यस्तै ५ खेलको सिरिजमा खेल जितेमा २४ अंक, टाई भएमा १२ अंक र ड्र भएमा ८ अंक हासिल गर्ने छन् ।
साथै खेलका क्रममा टिमले तोकिएको समयमा ओभर रेट मेन्टेन नगरेमा तोकिएको समय भन्दा पछि फालिएको ओभ अनुसार प्रति ओभर २ अंक घटाइने समेत नियम रहेको छ ।
सबै खेलपछि शिर्ष दुई स्थानमा रहेका टिमबीच प्रतियोगिताको फाइनल खेल २०२१ को जुन १० देखि १४ सम्म इङल्याण्डको लर्ड्स मैदानमा हुने छ ।