‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’
हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौं हिंसामा परेकी एक युवती ।
गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरुका आँखा रसाउँदै गए ।
उनी भनिरहेकी थिइन, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु न धर्तीमा हिंड्न । मजस्तै अरु पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरु खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहले जानुन् के भएको थियो नेपालका महिलामाथि ।’
बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बुवालाई पक्राउ गरेको थियो ।
रातिराति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरलेउनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन । त्यही क्रममा २०५८ मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।
‘अरु साथी भाग्न भ्यए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाँच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता पर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध थियो ।
‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्,‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’
कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन्। उनले सैनिकहरुबाट आफूमाथि अरु पनि धेरै पासविक व्यवहार भएको सुनाइन्। सेनाको कुटपिट र बलात्कारको कारण कपडामै दिसा चुहिएको उनले सुनाइन्। विज्ञहरुले ती युवतीमाथि कुकुरद्वारा बलात्कार गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन्।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पीडित युवतीले भनेअनुसारको घटना भएको हो भने छानविन गर्न सेना तयार रहेको बताएका छन्। उनले सेना यस्ता घटनाको विरुद्धमा रहेको बताए। अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार तालिम नलिई जनावरले मान्छेमाथि बलात्कार गर्दैन। यस घटनाले सेनाभित्र बलात्कारका लागि कुकुरहरु तालिम प्राप्त थिए भन्ने संकेत गर्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।