पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले पराजित गरेको हो । क्लब ब्रुगिसको घरेलु मैदानमा भएको खेलमा पीएजीलाई जित दिलाउन केलियन एम्बाप्पेले ह्याट्रिक गरे । ईकार्डीले पीएसजीलाई दुई गोल गरे ।
वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान आएका उनले ह्याट्रिक गर्न सफल भएका हुन् । खेलको सातौँ मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । खेलको ५२ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा एम्बाप्पे मैदान छिरे ।
खेलको ६१ औँ मिनेटमा पीएसजीका लागि अग्रता दोब्बर पारे । खेलको ६३ औँ मिनेटमा पीएसजीका लागि ईकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । एम्बाप्पेले खेलको ७९ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–० गोलको अग्रता दिलाए । खेलको ८३ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।
यो ह्याट्रिकसँगै उनी २० वर्ष ३ सय ६ दिनमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । यो जितसँगै समूह ‘ए’को खेलमा पीएसजीले तीन खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रुगिस २ अंकसहित तेस्रो स्थानमा छ ।