थाइल्याण्डका राजा वजिरालोङकोनले गलत काम गरेको आरोपमा राजदरबारका ६ जना अधिकारीहरुलाई पदबाट हटाएका छन् । उनीहरुले गलत व्यवहार गरेको र राजालाई सम्मान नगरेको भन्ने आरोप लगाइएको छ ।
केही दिनअघि मात्रै उनले आफ्नी उपपत्नीको रुपमा रहेकी सिनिनात वोङ्गभाजप्क्दी नामकी युवतीलाई यसअघि दिएका सबै मान पदवी खोसेका थिए । त्यसको लगत्तै हिजो राजदरबारले ६ जना कर्मचारीलाई हटाएको हो । त्यसरी हटाइएका ६ जनामा एक महिला, एक वरिष्ठ प्रहरी अधिकृत र दुईजना गार्डसमेत रहेका छन् ।
के कारणले दरबारमा यस्ता घटना भइरहेका छन् भनेर थाइल्याण्डमा चासो भए पनि दरबारको मामिलामा प्रश्न उठाउने कानुन नभएकोले सो सम्बन्धमा चर्चा वर्जित मानिन्छ ।
६ मध्ये एक जनामा प्रहरी लेफ्टिनेन्ट जनरल साकोल्केट चान्त्रा रहेको जनाइएको छ । यससम्बन्धी घोषणा बुधबारको रोयल गजेटमा गरिएको थियो । गजेटमा ती व्यक्तिले दरबारको नाम प्रयोग गरेर आफ्नो र आफन्तको लागि मात्रै फाइदा लिने काम गरेको अरोप लगाइएको छ ।
यसअघि गएको सोमबार पदवी खोसिएकी उपपत्नी सिनिनातलाई भने महारानीको जस्तो व्यवहार गर्न थालेको भन्ने आरोप लगाइएको थियो । उनको अहिले के अवस्था छ भन्ने बारेमा केही पनि खोलिएको छैन । अहिलेका राजाले थाइल्याण्डमा शासन चलाउन थालेपछि पहिला भन्दा प्रत्यक्ष रुपमा विभिन्न गतिविधिहरु गर्न थालेका छन् ।