गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे, त्यही क्रममा गत असार पहिलो साता इन्दहाङ राईसाँग चिनजान भयो । दिदीको सँगै पढ्ने साथी भएकोले उनी दाई भनेरै सम्बोधन गर्थिन् ।
सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो। ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्यो भनेर विश्वा गर्नै कठिन भइरहेको छ ।’ दिदीले भनिन । भाइटीकाको अघिल्लो दिन ती किशोरी कोठमा एक्लै थिइन् । राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे।
‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन्। राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन्।
राईले केहीबेरपछि देउसी सुुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरेको खबर कान्तिपुर दैनिकमा छ। ‘माहौल ठीकठाक नै थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो,’ पीडित किशोरीले भनिन्, ‘सुरुमा उसले हग गरौं भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्यो ।’