‘गुलाबो सिताबो’ को फस्ट लुक सार्वजनिक

बलिउडका राम्रा कलाकार हुन्, आयुष्मान खुराना । उनले एकपछि अर्को चलचित्रमा दर्शक र समीक्षक सबैको वाहवाही पाइरहेका छन् । यसैक्रममा आयुष्मानको नयाँ चलचित्र ‘गुलाबो सिताबो’को प्रदर्शन मिति तय भएको छ ।

पृथक चलचित्रमा अभिनय गरेर चर्चा कमाएका आयुष्मानले ‘गुलाबो सिताबो’मा बलिउडका बहुचर्चित अभिनेता अमिताभ बच्चनसँग स्क्रिन शेयर गर्ने छन् । चलचित्रमा मुख्य कलाकारद्वयको फस्ट लुकपनि रिलिज डेटसँगै सार्वजनिक गरिएको छ ।



अमिताभ र आयुष्मानको गेटअपले दर्शकमा चलचित्रप्रतिको कौतुहलता निकै बढाएको छ । चलचित्रमा अमिताभ मालिकको भूमिका देखिएका छन् भने आयुष्मान कामदारको भूमिका देखिँदैछन् ।

सुजित सरकारको निर्देशनमा बन्न लागेको ‘गुलाबो सिताबो’ फेमिली–कमेडी–ड्रामा हो । यो चलचित्र सन् २०२० को फ्रेबुअरी २८ मा रिलिज गरिने तय भएको छ ।

अमिताभ बच्चनको प्रास्टेट नाकसहितको लुक्सका बारेमा अहिले धेरै चर्चा भइरहेको छ । यसअघि आयुस्मान खुरानालाई लिएर ‘विक्की डोनर’ र अमिताभ बच्चनसँग ‘पिकु’जस्ता सुपरहिट चलचित्र बनाइसकेका सुजितको नयाँ फिल्मपनि निकै उत्कृष्ट हुने सबैको अपेक्षा छ । सुजित सबैको अपेक्षा र आफ्नो छविमा खरो उत्रिन सक्लान् वा नसक्लान् त्यो समयले नै बताउने छ ।

सम्बन्धित समाचार