जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आइतबारदेखि सुरु थुनछेक बहस सोमबार सकिएपछि महरालाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाण हेर्दा उनलाई थुनामै राखेर मुद्दाको पुर्पुक्ष गर्नुपर्ने देखिएको आदेशमा उल्लेख छ ।
‘अदालतले थुनामा पठाए पनि महराको सांसद पद भने यथावत् रहनेछ,’ कान्तिपुर दैनिकले लेखेको छ । पत्रिकाका अनुसार महरालाई सदरखोर डिल्लीबजारको ‘क’ब्लकमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै राखिएको छ ।
महरालाई सामान्य कैदी बस्ने कोठामा राखिएको छ । उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाई समेत राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् ।