‘पागलपन्ती’ फिल्म समीक्षा

भाग्यले साथ नदिएको युवक राज किशोर (जोन अब्राहम) र उसका साथीहरू जंकी (अरशद वारसी) अनि चन्दु (पुलकित सम्राट) लाई अपराध नाइकेहरू राजा (सौरभ शुक्ला) र वाईफाई भाइ (अनिल कपूर) ले आफूलाई पुगेको क्षतिको भरपाइ गर्नका लागि नियुक्त गर्छन् । तर यसले झनै ठूलो विपत्ति ल्याउँछ । पागलपन्तीको कथा यही हो ।

फिल्ममा एक ठाउँमा राज भन्छन्, ‘सबै कुराको अर्थ हुनु जरूरी छैन ।’ शायद यही नै यस फिल्मको कथा, पटकथा, संवाद र अन्य सबै कुरापछाडिको दर्शन हुनुपर्छ ।



यो कमेडी फिल्म हो, ठीक छ । तर यसको कथानकमा कुनै तारतम्य छैन । पहिलो दृश्यबाट नै फिल्ममा चर्को एक्सन देखिन्छ । संवादहरू हाँसउठ्दो बनाउन खोजिएको छ तर तिनले हाँसो हैन, रिस उठाउँछन् । अनि फिल्ममा असाध्यै धेरै पात्र छन् र प्रत्येक पात्र अर्कोभन्दा मूर्ख छ ।

अनिल कपूरले फेरि एकपटक ग्यांगस्टरको भूमिका निर्वाह गरेका छन् र धेरै चिच्याउँछन् । अरशद वारसी एक लाइन बोलेर हँसाउन माहिर छन् । जोन अब्राहमको चरित्र मूर्ख छ तर त्यसमा आफ्नै किसिमको चार्म छ । पुलकित सम्राटले चाहिँ फेरि एकपटक क्युट युवकको भूमिका निर्वाह गरेका छन् ।

फिल्मका तीन नायिकाहरू चाहिँ राम्री देखिन र बकवास संवाद बोल्न मात्र राखिएका देखिन्छन् । ‘बुवा भन्नुहुन्छ, चुम्बन गरेपछि म गर्भवती हुन्छु,’ यस्तो त छ संवादको स्तर ।

चरित्र अभिनेताहरूमा सौरभ शुक्लाले गल्ती गरिरहने अपराधीको भूमिका खेलेका छन् र उनी तर्साउने भन्दा पनि हँसाउने देखिन्छन् । नीरज मोदी भन्ने एउटा पात्र छ र त्यो भगौडा हीरा व्यापारी नीरव मोदी झैं कपडा लगाउँछ । तर उसको गुजराती बोली त्यति विश्वसनीय छैन र स्टिरियोटाइप मात्र लाग्छ ।

निर्देशक अनीश बज्मीले आफ्ना सहलेखकहरूसँग मिलेर दर्शकलाई बाँधिराख्न सबै तरिका अपनाएका छन् । रोमाञ्चक कार चेजहरूदेखि लिएर उच्च आवाजका विनाशका दृश्यहरूसम्म अनि अफ्रिकी सिंहहरूदेखि टाँसिने ग्लुमाथिको पूरै दृश्यसम्म छन् । अनि फिल्म बेलायतको सुन्दर लोकेसनमा शूट गरिएको छ । तर केही कुराले पनि प्रभाव पार्दैन किनकि स्क्रिप्ट साह्रै कमजोर छ । अनि फिल्ममा धेरै गीत छन् र तिनले फिल्मको समय तन्काउने काम मात्र गर्छन् । अन्त्यतिर आउँदा फिल्मको कथा बहकिएर देशभक्तितिर लाग्छ र त्यो जबर्जस्ती तन्काइएको अनुभव हुन्छ ।

यति राम्रो स्टारकास्ट र बबाल याक्सन भए पनि पागलपन्तीले कतैकतै हसाउने बाहेक अरू कुनै पनि प्रभाव पार्दैन ।

फिल्म : पागलपन्ती
कलाकार : जोन अब्राहम, अरशद वारसी, अनिल कपूर, पुलकित सम्राट, कृति खरबन्दा, ऊर्वशी रौटेला, सौरभ शुक्ला आदि
विधा : कमेडी
अवधि : २ घन्टा १३ मिनेट
रेटिङ : २.५

द टाइम्स अफ इन्डियामा प्रकाशित रौनक कोटेचाको समीक्षा

सम्बन्धित समाचार