पीपीएलका लागि खेलाडीको ट्रेडिङ : को कता पुगे ?

नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को नयाँ सिजनका लागि ६ फ्रेन्चाइज टोलीले रिटेन र रिलिज हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । अनुबन्ध हुने नयाँ खेलाडीमा सिनियर टोलीबाट खेलिसकेका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ल १ लाख ५० हजारमा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टनमा अनुबन्ध भएका छन् ।

गत सिजनको च्याम्पियन पोखराले अन्डर १९ टिमका तीव्र गतिका बलर आकाश चन्दलाई पनि ५० हजारमा रुपैयाँमा भित्र्याएको छ । त्यस्तै धनगढी ब्लुजले ब्याट्सम्यान सुनम गौतम र स्पिनर अनिल खरेललाई ५०- ५० हजारमा अनुबन्ध गरेको छ । सुनम अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् भने स्पिनर अनिललाई यसै सिजन बुटवल ब्लास्टर्सले रिलिज गरेको थियो ।



त्यस्तै नरेश बुढाएरलाई रिलिज गरेको काठमाडौं गोल्डेन वारियर्सले सिनियर टोलीका ओपनर तथा विकेटकीपर सुवास खकुरेल र तीव्र गतिका बलर अमृत भट्टाईलाई ५०(५० हजारमा भित्र्याएको छ । त्यसै गरि अन्डर-१९ टिमका अलराउन्डर शेर मल्ल र र तीव्र गतिका बायाँ हाते बलर कमल खत्रीलाई बुटवल ब्लास्टर्सले अनुबन्ध गरेको छ ।

शेरलाई ५० हजार र कमललाई ३० हजारमा अनुबन्ध गरिएको हो । त्यस्तै विकेटकीपर दिलिप नाथलाई विराटनगर टाइटन्सले ७५ हजारमा भित्र्याएको छ । दिलिपलाई धनगढीले रिलिज गरेको थियो । विराटनगरले अन्डर १९ का ओपनर लोकेश बमलाई पनि ५० हजारमा भित्र्याएको छ ।

गत सिजनको उपविजेता चितवन राइनोजले तीव्र गतिका बलर विक्रम सोबलाई १ लाख ३० हजार दिएर अनुबन्ध गरेको छ । त्यस्तै पोखराले रिलिज गरेको स्पिनर विक्रम भुषाललाई चितवनले ५० हजारमा भित्र्याएको छ ।

यस सिजनको पीपीएल आगामी मंसिर २८ देखी पुष १२ गतेसम्म पोखरा रंगशालामा हुँदै छ ।

सम्बन्धित समाचार