ज्ञानेन्द्रको सतकसँगै टी-ट्वान्टीमा नेपालले बनायो अहिलेसम्मकै बढी रन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन् । १३ औं सागअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन् । ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे । उनी १०७ रन हानेर आउट भएका छन् ।

यसअघि पूर्वकप्तान पारस खड्काले टी-ट्वान्टीमा सतक प्रहार गरेका थिए। ज्ञानेन्द्रको सतकसँगै नेपालले टी-ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ । निर्धारित २० ओभरको नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ।



नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए । रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए । अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन हाने । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे । भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिए । केहीबेरमा भुटानले जवाफी ब्याटिङ गर्नेछ ।

सम्बन्धित समाचार