साग : नेपालको शान बनोस्

दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करणको गत आइतबार काठमाडौंमा भव्य उद्घानट भयो । अन्तर्राष्ट्रिय स्तरका यस्ता कार्यक्रमको आयोजना नेपालमा हुनु आफैं पनि गौरवको विषय थियो । अझ नेपाली खेलाडीले गरेको उत्कृष्ट प्रदर्शन र प्राप्त गरेको स्वर्ण पदकले नेपालीको छाती गर्वले चौडा बनाइदिएका छन् ।

अन्तर्राष्ट्रिय स्तरको खेलका आफ्नै खालका मापदण्डहरू हुन्छन् । नेपालले खेलको उद्घाटन हुनु केही पूर्वसम्म रङ्गशालाको तयारीको काम गरिरहेको देखेर सागको १३ औं संस्करण सर्न सक्ने हल्ला पनि नफैलिएको होइन तर अन्ततः अन्तिम अवस्थासम्म पुगेर भए पनि काम गर्ने नेपालको बानीले साकार रूप लियो । सागको भव्य उद्घाटनले सबै नकारात्मक हल्लाहरूलाई निस्तेज पारिदियो र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाक जोगाइदियो ।



आज नेपालमा दक्षिण एशियाली खेलकुद आरम्भ भएको पाँर्चौ दिन हो । आजसम्म आइपुग्दा नेपालले २९ स्वर्ण पदक जितेर आफूलाई शीर्षस्थानमा राख्न सफल भएको छ । खेल नै हुन्छ वा हुँदैन भन्ने अन्यौल र राम्रो प्रशिक्षणको अभावमा पनि नेपाली खेलाडीले देखाएको खेल कौशल र आत्मविश्वासले नेपालीको छाती साँच्चै चौडा बनाएको छ । साथै, नेपाली खेलाडीहरूले राम्रो प्रशिक्षण पाउने र खेलमा उनीहरूले आफ्नो सुरक्षित भविष्य देख्न सक्ने वातावरण बनाइदिने हो भने नेपाली खेलाडीले अझै धेरै गर्न सक्छन् भन्ने सन्देश दिन साग सफल भएको छ । अझ कुनै खेलमा त नेपालले नयाँ इतिहास बनाउन नै सफल भएको छ । यो सफलताले खेलप्रेमीहरू त फुरूङ्ग भएकै छन्, सिङ्गो नेपाल गौरवान्वित भएको छ ।

कुनै खेल खेल्नु केही अगाडि मात्र गरिने तामझामभन्दा नियमित प्रशिक्षणको व्यवस्था, खेलाडीलाई साना मसिना तनावबाट मुक्त गर्ने र खेलाडीहरूलाई खेलकुदमा लागेर पनि केही गर्न सकिन्छ भने सन्देश दिन सक्ने हो भने नेपाल कुनै पनि अन्तर्राष्ट्रिय खेलमा आफूलाई अब्बल सावित गर्न सक्षम छ भन्ने सन्देश सागले स्थापित गरिदिएको छ । यो ऐतिहासिक उपलब्धिको रक्षा गर्ने काम सरकार र सरोकारवाला सबैको हो । यद्दपि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अस्पतालकै शैयाबाट खेलाडीहरूलाई शुभकामना सन्देश दिएर सरकार पनि खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न तयार छ भन्ने सङ्केत गरेकै हुन तर सागको समाप्तिसँगै यसको औचित्य पनि समापन नहोस् भन्ने कुरामा सचेत बन्नै पर्छ ।
साग अझै छदिन चल्ने छ । यस अवधिमा अझै धेरै स्वर्ण पदकहरूले नेपाली खेलाडीको छाती शोभायमान हुने छ । आर्थिक, सामाजिक, पारिवारिक र अन्य समस्याहरू झेल्दै भए पनि नेपाली खेलाडीहरू खेल मैदानमा उत्रने छन् र आफ्नो उत्कृष्ट प्रदर्शनले संसारको मन जित्न सफल हुनेछन् । अब तुलासा खत्रीझैं हातमुख जोड्ने जोहो गर्नकै लागि कुनै खेलाडी खाडीतिर भासिनु नपरोस् । सम्पूर्ण नेपाली मनहरूको शुभकामना छ खेलाडीहरूलाई !!

सम्बन्धित समाचार