ग्लोबल आइएमइ र जनता बैक एकीकृत

निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति ( बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् ।

चालू आव २०७६÷७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । अब ग्लोबल आइएमइ बैंक पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका दृष्टिकोणले नेपालको ठूलो बनेको छ । बैंकको चुक्ता पूँजी करीब १९ अर्ब, कूल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा एक खर्ब ९४ अर्ब पुगेको छ ।



सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दाबढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैंकका २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर एवं तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहने छन् ।

बैंकको शुभारम्भ गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले बित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । उनले भने, “आगामी दिनमा पनि तपाईहरुको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ,”

अर्थमन्त्री डा खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे। उनले भने, “तीव्र आर्थिक वृद्धि भएका देशको सूचीमा नेपाल परेको छ । लगानीको वातावरण बनेको छ । ”

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी सञ्चयका हिसाबले बैैक ठूलो वित्तीय संस्था भएकाले उल्लेख गर्दै निक्षेपकर्ताको अपेक्षा पुरा गर्न ध्यान दिन आग्रह गरे ।

सम्बन्धित समाचार