फुटबलमा दक्षिण एसियाकै सबै भन्दा कमजोर देश मानिने भुटानले पहिलो पटक दक्षिण एसियाली खेलकुद सागको फाइनल यात्रा तय गरेको छ ।
शनिवार श्रीलंकालाई ३–० को गोल अन्तरले पराजित गर्दै भुटान पहिलोपटक सागको फाइनलमा प्रवेश गरेको हो । पहिलोपटक फाइनलमा पुगेसँगै भुटानका खेलाडी मात्र होइन रंगशालामा उपस्थित दर्शकले समेत निकै खुसीयाली मनाएका छन् ।
उनीहरुले चर्चित नेपाली गीत ‘रेशम फिरिरी‘।’ बोलको गीत गाएर उत्सब मनाएका थिए । भुटानी राष्ट्रिय भण्डा हातमा लिएर खेल हेर्न पुगेका भुटानी दर्शक र पदाधिकारीले उक्त गीत गाएका थिए । उनीहरुले गाएको गीतको भीडियो खेल हेर्न रंगशाला पुगेका नेपाली समर्थक प्रमोद घिमिरे नामका फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।
कुनै समय अत्यन्त कमजोर मानिने र दक्षिण एसियाली देशरुहरु सबैले हराउने देशको रुपमा रहेको भुटानले जारी १३ औं सागमा नेपाल बाहेकका सबै टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
भुटानले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई पराजित गरेको हो । जितपछि ड्रेसिङ रुममा भुटानी खेलाडी र पदाधिकारी निकै खुसी देखिएका थिए ।
https://www.facebook.com/pramod.ghimire.338/videos/2452498381629325/
भुटानको अपेक्षा छ फाइनल नेपालसँग नपरोस् । आज नेपाल र बंगलादेशबीचको खेलमा नेपालले जितेमा भुटानको भेट फाइनमा नेपालसँग हुनेछ ।
नेपालले लिगमा भुटानलाई नमिठो हार चखाएको थियो । नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो । त्यसैले फाइनलमा नेपालसँगको भीडन्तले भुटानलाई डर पैदा गरेको छ तर भुटान रोकिने मुडमा भने छैन ।