१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतवार भएको फुटबलतर्फको भिडन्तमा आयोजक नेपालले बंगलादेशलाई हराएको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले १-० को जित निकाल्दै भुटानसँग फाइनल भिडन्त पक्का गरेको हो।
नेपालले समूह विजेता हुँदै १० अंकसहित फाइनल यात्रा तय गरेको छ । भुटान ९ अंकसहित समूह उपविजेता भएको छ। नेपालका लागि खेलको ११ औँ मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । बललाई सुन्दर गोलका लागि कप्तान सुजल श्रेष्ठले पास उपलब्ध गराइदिएका थिए ।
बंगलादेशविरुद्ध जित निकालेपछि नेपालले अब भुटानविरुद्ध मंसिर २४ गते स्वर्ण पदको रक्षा गर्न मैदान उत्रिनेछ । भुटानले फुटबलको स्वर्ण पहिलो पटक जित्ने गरी प्रतिस्पर्धा गर्नेछ । यसअघि श्रीलंकालाई हराउँदै भुटानले फाइनल यात्रा तय गरिसकेको छ । नेपालसँग हारेको बंगलादेशले कास्य पदक पाउनेछ ।