अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’को प्रयास भनेका छन् । ती डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाएको बीबीसीले उल्लेख गरेको छ ।
डेमोक्र्याटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको बताए ।
पेलोसीलाई लेखिएको पत्रमा उनले “अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्ध”को घोषणा गरेको भनी आरोप लगाएका छन् । मङ्गलवार पठाइएको पत्रमा उनले महाभियोगजस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताएका हुन् ।
बुधवार हुने मतदानमा परिणाम केही फरक होलाकि भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन् ।
शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्याएको भन्ने विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप ‘निराधार हस्तक्षेप’ भएको र दोस्रो ‘खतरनाक र निरर्थक’ भएको बताए । व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको भन्ने आरोपमाथि बुधवार उनले महाभियोगसम्बन्धी मतदानको सामना गर्दैछन् ।
उनले आफ्नो पत्रमा महाभियोग प्रकरणको सुरुदेखि नै उचित संवैधानिक प्रक्रियाबाट आफू विमुख भएको र प्रमाण प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार पनि नदिइएको बताएका छन् । ट्रम्पले शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्याएको भन्ने दुईवटा महाभियोगका आरोपहरू झेलिरहेका छन् ।
बुधबार यदि अपेक्षा गरिए अनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनेछन् । उनी त्यसपछि सुनुवाइका लागि माथिल्लो सदन जानेछन् जहाँ दुवै पार्टीका सदस्यहरूले स्वतन्त्र रुपमा सुनुवाइ गर्नुपर्नेछ ।