अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मंगलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्। मौसम विभागले मंगलवारको तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सिअसभन्दा बढी भएको बताएको छ।
देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ। यो तथ्याङ्क अस्ट्रेलियाको झाडीमा फैलिएको डढेलोका कारण व्याप्त जनआक्रोश बढिरहेको बेला आएको हो।
यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको हो। मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ।
थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको थियो।
यो साताको सुरुमा वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो जुन डिसेम्बर महिनाका लागि अभूतपूर्व थियो।
समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक विगत छ दशककै उच्च भएकोले यस्तो भएको मानिएको छ।