स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।

कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको शल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भन्नुभयो । उहाँले अहिलेसम्म छ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताए ।



पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भयो । शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताए । खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् । त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका देखिन्छन् । प्रतिष्ठानले ब्लड बैंकसमेत सञ्चालन गरेको छ ।

आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताए । आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हुँदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिए । आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताए । यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ ।

सम्बन्धित समाचार