झारखण्डमा लगातार पाँच वर्षसम्म मुख्यमन्त्री भएर गौरव हासिल गरेका रघुबर दास हारतर्फ अग्रसर छन् । चुनावअघि ‘यसपटक ६५ भन्दामाथि’ नारा दिएको भारतीय जनता पार्टी (बीजेपी) यो लक्ष्यभन्दा कम सिट सङ्ख्यामा नै सीमित हुने देखिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्ड मुक्ति मोर्चा र उनको गठबन्धनलाई बधाइ दिँदै शुभकामना दिएका छन् । मोदीले सेवा गर्ने मौका दिएकोमा आभार व्यक्त गर्दै आउँदा दिनमा स्थानीय मुद्दालाई उठाउने वाचा गरेका छन् ।
त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले पनि जनादेशको सम्मान गर्ने बताएका छन् । उनले ट्वीटमा भने,’भाजपालाई पाँच वर्षसम्म सेवा गर्न दिएकोमा जनताप्रति आभार छौँ ।’
विधानसभाको ८१ सिटका लागि भएको चुनावको मतगणना चलिरहँदा झारखण्ड मुक्ती मोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलको गठबन्धनले ४० सिटमा अग्रता लिइरहेको छ भने बीजेपीले २९ सिटमा अग्रता लिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चुनावपछिको मत सर्वेक्षण अर्थात एक्जिट पोलहरुले गठबन्धनले बहुमत ल्याउने देखाएका छन् । मतगणना सकिन बाँकी नै भए पनि झारखण्डमा बीजेपीको सरकार नबन्ने सम्भावना बलियो हुँदै गएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
अहिलेसम्म २३ सिटको नतिजा सार्वजनिक भइसकेको छ । जसमा भारतीय कांग्रेस, झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको गठबन्धनले १२ सिटमा जित निकालेको छ । भारतीय जनता पार्टीले ९ सिटमा मात्रै जित हात पारेको छ ।
गणना भइरहेको सिटमा पनि गठबन्धनले नै अग्रता लिइरहेको छ । यसअघि २०१४ मा भएको चुनावमा भाजपाले सबैभन्दा बढी सिटमा विजय हात पारेको थियो ।
परिणाम घोषणा भएको सात सीटमध्ये भाजपाले तीनवटामा जित्दा २५ सिटमा अग्रता लिएको छ।
भाजपाको यो ठूलो हारको पछाडि धेरै कारणहरु रहेका छन् । मुख्यमन्त्री रघुबर दासको व्यक्तिगत छविका कारण पनि पराजय भोग्नु परेको धेरैले स्वीकारेका छन् ।
यसको अलावा केन्द्रीयस्तरमा चलिरहेका केही कार्यक्रम र केन्द्र तथा राज्य सरकारका केही फैसलाका कारण बीजेपी झारखण्डमा नराम्रोसँग हार्न पुगेको हो ।