विमलसहित चार फुटबलरको निलम्बन अवधि घटाइयो

नेपाल फुटबल संघ (एन्फा) ले अनुशासन विपरित काम गरेको भन्दै निलम्बनमा परेका चार फुटबलरमाथिको प्रतिवन्ध घटाएको छ।

स्ट्राइकर विमल घर्तीमगरसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीमाथि लागेको निलम्बन २७ दिन कम गरिएको हो। एन्फाको अनुशासन कमिटीको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो।



एन्फाले अनुशासन कमिटिको निर्णय भएको मितिले मंसिर २७ गतेबाट लागु हुने गरि कारबाही गरिएको बताएको थियो। तर, अहिले एन्फाले कारबाहीको अवधि घटाउँदै कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो ।

एन्फाले अनुशासन विपरित गतिविधि गरेको विमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिन र बाँकी दुई जनालाई ४५ दिन निलम्बन गरेको थियो।

विश्वकप छनोटको कुवेतविरुद्ध हुने खेलका लागि भुटान जानुअघि विमल र दिनेशसहित अञ्जन विष्ट र सन्तोष तामाङ नाइट क्लब गएको पाइएपछि उनीहरु चारै जनालाई टोलीबाट हटाइएको थियो।

गत नोभेम्बर १६ तारिखमा एन्फाले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न अनुशासन कमिटीलाई निर्देशन दिएको थियो। चारै जना खेलाडीलाई जनही ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको थियो।

उनीहरुले १३ औं साग खेलकुद समेत गुमाएका थिए।

सम्बन्धित समाचार