इङलिश प्रिमियर लिग क्लब टोटनह्यामका दक्षिण कोरियाली खेलाडी सन हेंग मिनको तीन खेलको प्रतिबन्ध कायम रहने भएको छ । चेल्सीविरुद्धको खेलमा रातो कार्ड पाएका सनलाई लगाइएको तीन खेलको प्रतिबन्धमाथि टोटनह्यामले गरेको अपिल खारेज भएपछि प्रतिबन्ध कायम रहने भएको हो ।
चेल्सीविरुद्धको खेलमा खेलको ६२औ मिनेटमा डिफेन्डर एन्टोनियो रुडीगेरसँग भएको टकरावपछि सनलाई रातो कार्ड दिइएको थियो । सो खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
भार रिभ्यूमा सनले रुडीगेरको छातीमा हानेको देखिएपछि रातो कार्ड दिईएको थियो ।
प्रतिबन्ध कायम रहेपछि सनले आगामी आठ दिनमा ब्राइटन, नर्विच र साउथहम्पटनसँगका खेल गुमाउने भएका छन् ।
टोटनह्यामका म्यानेजर जोसे मोरिन्होले सनको रातोकार्डका विषयमा बोल्दै यो रातो कार्ड दिने घटना नभएको बताएका थिए भने चेल्सीका म्यानेजर फ्र्यांक लाम्पार्डले भने सनले रातोकार्ड पाउनुपर्ने नै भएको बताए ।
सनले यस सिजनमा टोटनह्यामका लागि २३ खेलमा १० गोल गरेका छन् ।