बजारशास्त्रीहरूको नजरमा सन् २०१९ उपलब्धिपूर्ण

त्रिभुवन विश्वविद्यालयसँग आबद्ध बजारशास्त्र विषय समितिको सक्रियतामा नववर्ष २०२० को अवसर पारेर शनिवार राजधानीको नयाँ बानेश्वरमा एक शुभकामना आदान प्रदान तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अन्तक्रिया कार्यक्रम बजारशास्त्र विषय समितिका अध्यक्ष प्राडा बगला बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित बजारशास्त्रीहरूले बजारशास्त्रीको नजरमा सन् २०१९ उपलब्धिपूर्ण रहेको निष्कर्ष पनि निकालेका थिए । सन् २०१९ लाई समीक्षा गर्ने क्रममा नेपाल कमर्श क्याम्पसका बजारशास्त्रका सहप्राध्यापक डा. गोपाल थापा अमेरिकन मार्केटिङ एशोसिएशन (ए.एम.ए.) हाई एजुकेशन मार्केटर अफ द इयर २०१९ इन्डिभिजुअल अवार्डमा मनोनयन हुनुलाई बजारशास्त्रीहरूले नेपालकै लागि गर्वको विषय रहेको भन्दै यसलाई ठूलो उपलब्धिका रूपमा अथ्र्याएका थिए । कार्यक्रममा त्यसका लागि मनोनयनमा परेका डा. गोपाल थापालाई बधाई पनि दिइएको थियो ।



कार्यक्रमा आफ्नो मन्तव्य राख्ने क्रममा व्यवस्थापन केन्द्रीय विभागका निवर्तमान प्रमुख प्राडा भोजराज अर्यालले बजारशास्त्र विषयको प्राध्यापनमा आधुनिक शिक्षण विधि र यसको प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए । साथै उनले डा. गोपाल थापाको योगदानको चर्चा गर्दै थापाको मनोनयनलाई प्रशंसा गरेका थिए भने बजारशास्त्र समितिका पूर्व अध्यक्ष प्राडा श्यामकृष्ण श्रेष्ठले डा. थापासँग काम गर्दाको अनुभव सेयर गर्दै डा. थापाको उपलब्धिप्रति खुसी व्यक्त गरेका थिए ।

आ–आफ्ना अनुभवहरू सेयर गर्ने क्रममा पदमकन्या क्याम्पसकी सह–प्राध्यापक नीरा श्रेष्ठले बजारशास्त्र विषयलाई अनुसन्धानमुखी बनाउनुपर्ने धारणा राखेकी थिइन् । नेपाल कमर्श क्याम्पसका भरत राईले सन् २०२० मा बजारशास्त्र विषय समितिलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । यसैगरी उप–प्राध्यापक सन्तोष घिमिरेले विश्वविद्यालय अनुदान आयोगसँग समन्वय गरेर बजारशास्त्र विषयमा अनुसन्धान हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा शंकरदेव क्याम्पसका पूर्व सह–प्रा. ईश्वरराज लोहनी तथा उप–प्रा. मीखा श्रेष्ठ, केन्द्रीय क्याम्पस कीर्तिपुरका उप–प्रा. सुशील अवाले, डा. स्वीकृति बस्नेत, नेपाल कमर्श क्याम्पसका डा. गोपाल थापा आदिले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका संयोजक तथा नेपाल कमर्श क्याम्पस, मीनभवनका सह–प्राध्यापक डा. गोपाल थापाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार