अहिले अस्ट्रेलियामा जारी बिग बास लिग अनेकौ कारणले चर्चामा रहेको छ । आइतबारको खेलमा एम्पायरको व्यवहारले चर्चामा रहेको बिग बास फेरी अफगानिस्तानका खेलाडी राशिद खानको ‘क्यामेल ब्याट’ का कारण चर्चामा रहेको छ ।
आइतबार राशिदले क्यामेल ब्याटले खेल्दै १६ बलमा २५ रन बनाएपछि यो ब्याटको चर्चा बढेको हो । एडिलेड स्ट्राइकर्सबाट खेल्दै राशिदले मेलवर्न रेनेगेडसविरुद्ध १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २५ रन बनाएका थिए । सो खेलमा २ विकेट समेत लिएका राशिद प्लेयर अफ द म्याच समेत बनेका थिए ।
राशिदले खेलपछि आफ्नो क्यामेल ब्याट सबैलाई देखाएका थिए । राशिदले प्रयोग गरेको यो नयाँ ब्याटको पछाडीको भाग दुवै तिर दबेको हुन्छ भने बीचको भाग उठेको हुन्छ । खासमा ब्याटको पछाडीको भाग उटको पिठ्यु आकारमा हुने हुनाले यसलाई क्यामेल ब्याट नाम दिइएको छ ।
राशिदको आइपिएल टिम सनराइजर्स हैदरावादले सामाजिक संजालमा लेख्दै राशिदलाई आइपिएलमा समेत यो ब्याट लिएर आउन अनुरोध गरेको छ । सनराइजर्सको यो अनुरोधपछि अब क्यामेल ब्याटको चर्चा झन् बढेको छ ।
क्रिकेटमा यो मात्र यस्तो अवसर होइनकि ब्याट्सम्यानले नयाँ किसिमको ब्याटको प्रयोग गरेका हुन् । यस अघि अस्ट्रेलियाका पुर्व खेलाडी म्याथ्युज हेडेनले आइपिएलमा मंगुज ब्याटको प्रयोग गरेका थिए ।