कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारणसभा हालै काठमाडौं डिल्लीबजारस्थित अमृत भोग क्याटेरर्समा सम्पन्न गरेको छ । प्रविधिको स्तरोन्नति, नयाँ ग्राहक भित्र्याउन तथा व्यवसाय विस्तारको निमित्त बृहत शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बावजुद यस आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष सुदीप आचार्यले बताए । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्तापुँजी रु. २,५४,०१,९५,३५२.०० को ६.८ प्रतिशतका दरले हुन आउने रकम रु. १७,२७,३३,२८४/– नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष सुदीप आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचिहरू र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेका थिए । साथै, उनले बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रूपमा स्थापित गर्नमा टेवा पुग्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरू हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालीन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रूपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताएका थिए ।
बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको साधारणसभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्यमार्फत् स्वागत गरेका थिए भने सञ्चालक भीमप्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेको बैंकबाट प्रेषित विज्ञप्तिमा उल्लेख छ ।