अष्ट्रेलियामा वर्षासँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ ।
यद्यपि, आइतवार राती अधिकारीले बिहिवारदेखि तापक्रम थप वृद्धि हुने चेतावनी दिएका छन् । उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारीसमेत दिएका छन् ।
‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमवार बिहान चेतावनी दिइन् । डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् ।
यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमवारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।