अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफलाई संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित कार्यालयमा जानका लागि भिसा दिन अस्वीकार गरेको छ ।
इरानी विदेशमन्त्री आउँदो विहीवार हुने सुरक्षा परिषद्को बैठकमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए । ट्रम्प प्रशासनले सोमबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सलाई यसबारेमा जानकारी गराएको छ ।
अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतवार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएका थिए । त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको थियो।
यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो । जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको थियो ।