भारतको राजधानी नयाँदिल्लीमा १६ डिसेम्बर २०१२ मा निर्भयामाथि भएको सामुहिक बलात्कारका चार दोषीलाई ‘डेथ वारेन्ट’ जारी गरिएको छ । पटियाला हाउस अदालतले उनीहरुलाई २२ जनवरी, २०२० को बिहान ७ बजे फाँसीको समय तोकेको हो ।
उनीहरुलाई १४ दिनभित्र फाँसीविरुद्ध उपचारात्मक याचना (क्युरेटिभ पिटिसन) दर्ता गर्न सक्नेछन् । यसअघि निर्भयाकी आमाले पटियाला हाउस अदालतमा दोषीलाई चाँडोभन्दा चाँडो ‘डेथ वारेन्ट’ जारी गर्न माग गरेकी थिइन् ।
सामुहिक बलात्कार र हत्या गरेको मुद्दामा अदालतले अक्षय कुमार, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दोषी ठहर गरेको थियो । कोर्टरुममा रहेकी वरिष्ठ पत्रकार सुचित्रा मोहतीले भिडियो कन्फरेन्सका माध्यमबाट दोषीको बयान सुनेको बताएकी थिइन् । त्यसबेला सञ्चारकर्मीलाई बाहिर जान आग्रह गरिएको थियो ।
दोषी ठहर गरिएका तर्फका वकिल एपी सिंहले अदालतको यस आदेशविरुद्ध सर्वोच्चमा क्युरेटिभ पिटिसन दायर गर्ने बताएका छन् ।
निर्भयाकी आमा आशादेवीले आफू ७ वर्षदेखि दोषीलाई सजाय भएको हेर्न पर्खिरहेको बताएकी थिइन् । उनले भनिन्,’मेरी छोरीलाई न्याय मिलेको छ । चारैजना दोषीलाई फाँसीको सजायले देशभरका महिलाले आफूलाई बलियो ठान्नेषछन् । यस फैसलाले न्यायापालिकाप्रतिको जनताको विश्वािस थप बलियो बनाएको छ ।’
यसअघि डिसेम्बरमा सर्वोच्चका न्यायाधीश आर भानुमतिको अध्यक्षतामा बसेको तीन सदस्यीय टोलीले अक्षय कुमारले दर्ता गरेको उपचारात्मक याचनालाई खारेज गरेको थियो । अदालतको आदेशमा भनिएको थियो, ‘हामी दोषी भइसकेका अक्षय कुमारको याचनालाई खारेज गर्छौं । उनको याचनामा पुनर्विचार गर्ने कुनै प्रसंग छैन ।’
यसअघि सन् २०१३ को सेप्टेम्बर १३ मा ट्रायल कोर्टले पनि चारै दोषीलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
सन् २०१२ को डिसेम्बर २६ मा २३ वर्षीया मेडिकल छात्रामाथि ६ पुरुषले गुडिरहेको सार्वजनिक बसमा सामुहिक बलात्कार गरेका थिए । चारै दोषीबाहेक अर्का एक आरोपीले पुर्पक्षका क्रममा तिहाड जेलमै आत्महत्या गरेका थिए । अर्का एक अभियुक्त नाबालिक साबित भएका थिए । उनलाई सुधारगृहमा पठाइएको थियो भने सन् २०१५ मा उनलाई सुधार गृहबाट रिहा गरिएको थियो ।