इंग्लिस क्लब लिभरपुलका साडिओ मानेले अफ्रिकन वर्ष फुटबलर अवार्ड जित्न सफल भएका छन् । कन्फेडेरेशन अफ अफ्रिकन फुटबल (काफ)ले सेनेगलका मानेलाई वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो ।
उनले लिभरपुलका साथी खेलाडी इजिप्टका मोहम्मद सालह र म्यानचेस्टर सिटीका अल्जेरियन खेलाडी रियाद महरेजलाई पछि पारेर अवार्ड जितेका हुन् । २७ वर्षका मानेले गएको सिजन लिभरपुललाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले गएको सिजन सबै प्रतिस्पर्धामा गरेर ३० गोल गरेका थिए । यो सिजन उनले १५ गोल गरिसकेका छन् । लिभरपुल हाल प्रिमियर लिगको शीर्ष स्थानमा छ ।