

इरानी सेनाले गत बुधवार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिवार स्विकार गरेको छ । उक्त विमानमा १ सय ७६ व्यक्ति सवार थिए । इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ ।
बोइंग ७३७ फ्लाइट युक्रेनियन इन्टरनेशनल एयरलाइन्सको थियो । बुधवार उडान भरेको केही समयपछि नै यसलाई तेहरानको बाहिरी इलाकामा खसालिएको थियो । इरानले इराकको अमेरिकी बेसक्याम्पमा मिसाइलमार्फत् हमला गरेको थियो र त्यसको केही घण्टापछि विमानलाई खसालिएको थियो ।
विमानलाई हतियार प्रयोग गरेर खसालिएको भन्ने विभिन्न देशको दाबीलाई इरानले यसअघि अस्विकार गर्दै आएको थियो । अमेरिका र क्यानडाले आफ्नो गोप्य सूचनाको आधारमा इरानले उक्त विमानलाई खसालेको किटान गरेको थियो । उक्त विमान युक्रेनको राजधानी कियभ जाँदै थियो । यसमा १ सय ६७ यात्रु थिए भने चालक दलका ९ सदस्य थिए । उक्त विमानमा इरानका ८२, क्यानडाका १३ र युक्रेनका ११ नागरिक सवार थिए ।
इरानका राष्ट्रपति हसन रुहानीले ट्वीट गर्दै भनेका छन्, ‘मानवीय त्रुटीका कारण युक्रेनको यात्री विमानमाथि मिसाइल दागियो र १ सय ७६ निर्दोषको ज्यान गयो । कहाँ गल्ती भयो भनेर अहिले अनुसन्धान भइरहेको छ । यो भयावह त्रासदीका लागि जो दोषी छन्, उनीहरुलाई छोडिने छैन । यो विनाशकारी गल्तीका कारण इस्लामिक रिपब्लिक अफ इरानप्रति घोर खेद प्रकट गर्छौं । पीडित परिवारप्रति मेरो समवेदना छ ।’

