दक्षिण–पूर्वी अष्ट्रेलियाको आकाशको रंग रगत झैं रातो देखिन्छ । यहाँको नयाँ वर्ष पनि यसै रंग र चिन्तासहित शुरु भएको थियो । यहाँका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलियाको त्यति नै भू–भागमा आगलागी भएको छ । कम्तीमा दुई हजार घर ध्वस्त भइसकेका छन् । स्थिती थप चिन्ताजनक हुने अनुमान छ ।
तापक्रमले सबै रेकर्ड तोडिसकेको छ, सुख्खा जंगल र तीब्र हावाका कारण आगो थप भयावह भएको छ । यसै महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । सन् २०१७ देखि न्यू साउथ वेल्स र क्विन्सल्याण्डमा लगातार कम वर्षा भइरहेको छ । वर्षा नभएका कारण कृषि उत्पादनमा त असर पुगेकै छ, यसले आगो फैलिन पनि मद्दत गरेको छ ।
न्यू साउथ वेल्समा करिब एक करोड एकडको इलाका जलेर खरानी भएका छन् । गर्मी मौसममा अष्ट्रेलिया सामान्य रुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढ्दै गयो । यस्तोमा झाडी पनि सुक्दै गयो ।
अष्ट्रेलियाको हरेक राज्य आगोबाट प्रभावित भएको छ तर न्यू साउथ वेल्स सबैभन्दा धेरै प्रभावित भएको छ । अष्ट्रेलियाका ठूला शहर मेलबर्न र सिड्नी पनि आगीबाट बच्न सकेका छैनन् । डिसेम्बरको सुरुवातसँगै सिड्नीको हवाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो ।
अष्ट्रेलियामा गर्मीयाम डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम पत्रिकाका अनुसार न्यू साउथ वेल्सका करिब ३० प्रतिशत जंगल जलिसकेको छ । यो हप्ता यसको दायरा ५० प्रतिशतसम्म फैलिने आशंका गरिएको छ । अष्ट्रेलियाको मौसम विभागका अनुसार सन् २०१९ मा सबैभन्दा गर्मी मापन गरिएको छ ।
आँकडाका अनुसार अष्ट्रेलियाको तापक्रम सन् १९१० पछि एक डिग्री सेल्सियस बढेको छ । ब्यूरो अफ मेटिअरोलोजीका अनुसार सन् १९५० पछि तापक्रममा थप वृद्धि हुन सुरु भएको छ । अष्ट्रेलियाले डिसेम्बरमा मात्रै दुई पटक तापक्रमको रेकर्ड तोडेको थियो । १७ डिसेम्बरको औसम अधिकतम तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसको भोलिपल्ट १८ डिसेम्बरको तापक्रम ४१.९ डिग्री सेल्सियस थियो । यी दुबै दिनमा सन् २०१३ को ४०.३ डिग्री सेल्सियस तापक्रमको रेकर्ड तोडिएको थियो ।
डिसेम्बरको अन्त्यमा हरेक राज्यमा ४० डिग्रीभन्दा माथि नै तापक्रम मापन गरिएको थियो । यसमा तस्मानिया राज्य पनि समावेश थियो जुन साधारणतया अन्य इलाकाको तुलनामा चिसो मानिन्छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि अपनाइएको तरिकाप्रति खेद व्यक्त गरेका छन् । स्कट मरिसनले आगो र जलवायु परिवर्तनको विषयमा उनको सरकारको धारणाका लागि आलोचनाको सामना गरिरहेका छन् ।
आइतवार प्रधानमन्त्रीले स्विकार गर्दै भने, ‘मैले थुप्रै कुरालाई योभन्दा राम्रो तरिकाले सम्हाल्न सक्थेँ ।’