गंगुबाईमा आलियाको यस्तो छ पहिलो लुक

बलिवुड अभिनेत्री आलिया भट्टको फिल्म गंगुबाई काठियावाडीको पहिलो पोस्टर सार्वजनिक भएको छ । चर्चित निर्देशक संजय लिला भन्सालीको फिल्म गंगुबाई काठियावाडीमा आलियाको नयाँ रुप देखिएको छ । फिल्मको पहिलो पोस्टरबाटै फिल्म आलिया केन्द्रित रहेको प्रष्ट बुझ्न सकिन्छ ।

पहिलो पटक भन्सालीसँग काम गर्न लागेकी आलियाले यस फिल्मका लागि विशेष तयारी समेत गरिरहेकी छन् । यो फिल्म मुम्बईको कमाठीपुरा रेड लाइट एरियाकी चर्चित गंगुबाई कोठेवालीको जीवनीमा आधारित रहेको छ । यो फिल्ममा ६० को दशकको मुम्बईलाई देखाइने बताइएको छ । यस फिल्ममा कम उमेरमा बेश्यावृतिमा गएकी गंगुबाई डन बनेको कथा हुने बताइएको छ ।



आलियाका लागि यस फिल्ममा आफ्नो बोलीचाली भाषा बदल्नु पर्ने भएको छ । यतिमात्र होइन आलियाले यस फिल्मका लागि हिन्दी र मराठीका यस्ता शब्द सिक्नुपर्ने भएको छ जुन सामान्य बोलीचालीको भाषामा बोलिदैन ।

आलियाले फिल्मको तयारी गरिरहेको र उनको भूमिकाको बोलचाल बिल्कुल नयाँ र अचम्म लाग्दो भएको उल्लेख गरेको छ । आलियाले आफ्नो भूमिकाका लागि गाली समेत सिकिरहेकी छन् ।

अपशब्द (गाली) आलियाको यस फिल्मको भूमिकाको महत्वपूर्ण हिस्सा रहेको बताइएको छ । आलियाले गाली सिक्ने क्रममा ती शब्दको अर्थ सोध्ने गरेको र फिल्म युनिटलाई सो अर्थ बताउन समस्या परिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

आलियासँग इन्शाअल्लाह बन्द भएपछि भन्सालीले आलियालाई आफ्नो अर्को फिल्ममा लिने बाचा गरे अनुसार आलियालाई नै लिएर गंगुबाई बनाउने घोषणा गरेका हुन् ।

फिल्म यसै बर्षको सेप्टेम्बर ११ मा रिलिज गरिने घोषणा गरिएको छ ।

सम्बन्धित समाचार