नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले आक्रोस पोखेकी छिन् । सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै आक्रोस पोखेकी हुन् ।
एयरपोर्टमा प्रहरीले आफुलाई अभद्र व्यबहार गर्दै तँ भनेर अपमानित गरेको उनको आरोप छ । साथै, उनले प्रहरीले हेप्दै ज्याकेट खोल्न लाएर सार्वजनिक ठाउँमा अपमानित गरेको कुरा समेत उल्लेख गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा उक्त भिडियो राखिसकेपछि अहिले गायिका राउत विवादमा तानिएकी छन्। उनले प्रहरीप्रति आक्रोस पोखेको भिडियो एकाएक ‘भाइरल’ भइरहेको छ । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।