चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु

चीनमा देखिएको एक प्रकारको नँया भाइरसबाट संक्रमित हुने मानिसको संख्या बढेको छ ।

चीनको वुहान शहरमा नयाँ भाइरसबाट तीन जनाको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ । चिनियाँ अधिकारिका अनुसार यो रहस्यमय भाइरसले बिरामी हुनेको संख्या अहिले २०० पुगेको छ । चीनका धेरै सहरमा फैलिएको यो भाइरस अब चीनको वुहान सहरमा पनि देखिएको छ ।



पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ । चन्द्रमान पात्रो अनुसारको नयाँ वर्ष मनाउनका लागि आउँदा हप्ताहरूमा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर छ ।

वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको सङ्क्रमण देखिएको थाइल्यान्ड र जापानले समेत बताएका छन् । चिनियाँ अधिकारीहरूका अनुसार नयाँ प्रकारको कोरोनाभाइरसका कारण पछिल्लो पटक मृत्यु हुनेमा गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीय वृद्ध रहेका छन् ।

चिकित्सकहरूका टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चिनियाँ अधिकारीहरूले बताएका छन् । सीफूड विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको थियो ।

के हो कोरोनाभाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।

पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्।

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।
ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

बीबीसी

सम्बन्धित समाचार