अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेको महाअभियोगमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा सुनुवाई शुरु भएको छ। यद्यपीः सिनेटमा ट्रम्पकै पार्टी रिपब्लिकनको बहुमत छ । रिपब्लिकन पार्टीका नेता मिच म्याकोनलले महाअभियोग प्रमाणित गर्ने साक्षी या दस्तावेजहरुलाई रोक्ने प्रयास गरिरहेका छन् ।
तर विपक्षी डेमोक्रेट्सहरुले महाअभियोगमाथि सुनुवाई गर्ने नियममै परिवर्तन गर्न चाहेका छन् । युक्रेन मामिलामा आफ्नो शक्ति दुरुपयोग गरेको तथा तल्लो सदन कांग्रेसमा आचरण परीक्षण गर्न नमानेको आरोप ट्रम्पमाथि लागेको छ । तर उनले यी आरोपहरु अस्वीकार गर्दै आएका छन् ।
सिनेटका सदस्यहरुले निष्पक्षतापूर्वक न्यायाधीशले झैं महाअभियोग प्रकृयामाथि काम गर्ने सपथ लिएका छन् । सांसदहरु सातामा ६ दिन र हरेक दिन ६ घण्टा महाअभियोग प्रकृयामा भाग लिनेछन् । ट्रम्पमाथिको सुनुवाई अमेरिकाका प्रधानन्यायाधीशकै अघि शुरु भएको छ ।
अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि नै महाअभियोग लागेको यो तेस्रो पटक हो । ट्रम्पविरुद्ध लागेको महाअभियोगमा कहिलेसम्म सुनुवाई चल्छ भन्ने एकीन छैन । तर, रिपब्लिकनहरुको बहुमत रहेको सिनेटमा राष्ट्रपति ट्रम्पलाई दोषी ठहर्याउने सम्भावना भने निकै क्षीण छ।