दुबईबाट विवाहको वर्षगाँठ र जन्मदिन मनाउन आएका थिए नेपाल !

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृष्णन नायर र उनकी ३४ वर्षीया श्रीमती सरन्या र उनीहरुका तीन सन्तान ९ वर्षे श्रीभद्र, ८ वर्षे आर्च र ७ वर्षे अभी नायरको मृत्यु भएको छ ।

दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकलाई अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकोप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।



उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रभिनका साथीहरु र पारिवारिक स्रोतका अनुसार प्रभिन नायर र उनकी श्रीमती सारान्या बालबच्चाको जन्मदिन र डिसेम्बरमा परेको विवाहको १० औं वर्षगाँठ मनाउन नेपाल आएका थिए ।

परिवारकै मृत्यु भएको खबरले दुबई स्थित उनका आफन्त र साथीभाइ शोकमग्न भएका छन् । प्रभिन मूल रुपमा केरलाका थिभुरानान्थानपुरमका हुन् र उनी विगत ११ वर्षदेखि दुबईको कालान्दुर ग्रुप अफ कम्पनिज नामको कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत थिए ।

उनकी श्रीमतीले कोचीस्थित एर्नाकुलमबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको पारिवारिक श्रोतले बताएको छ ।‘उनका तीनै सन्तानको जन्म जनवरीमा भएको हो । बच्चाहरुको जन्मदिनमा केही दिनको मात्रै फरक छ,’ प्रभिनलाई नियुक्त गर्ने कालान्दुरले जानकारी दिए ।

‘उनी बिहिबार दुबईबाट एर्नाकुलम पुगेका थिए र शुक्रबार परिवारसहित नेपाल गएका थिए । उनी शनिबार काममा फर्कने योजनामा थिए,’ उनले भने ।

सम्बन्धित समाचार