राजनीतिले समाजलाई विभाजन गर्छ भने संगीतले जोड्दछ : मन्त्री पाेखरेल

‘स्वरकिन्नरी’ तारादेवीको १४औं पुण्य स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । तारादेवी स्मृती फाउन्डेशनको आयोजना र काठमाडौं महानगरपालिकाको सहकार्यमा विहीबार काठमाडौंमा स्व.तारादेवीको १४औं स्मृति दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वर्गीय तारादेवी आज हाम्रा माझ नभए पनि उनका स्वरहरू, विचारहरू र उनका योगदानहरू सुरक्षित रहेको बताए । स्वर्गीय तारादेवीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पोखरेलले तारादेवीको योगदान चिरस्थायी बनाउन लागिरहेकोमा तारादेवी स्मृति फाउण्डेसनलाई बधाई ज्ञापन गरेका थिए । ‘राजनीतिले मानिसलाई विचार दृष्टिकोण दिन्छ, जसकारण मानीसहरू विभाजित हुन्छन्’ उनले भने । ‘तर संगीतले मानिसलाई जोड्ने गर्छ । त्यसैले संगीतका क्षेत्रबाट समाजलाई विभाजनभन्दा पनि एकताबद्ध गर्नुहुने तारादेवीलगायत सबैलाई सम्झना र सम्मान गर्न चाहन्छु ।’



कार्यक्रममा तारादेवी फाउण्डेसनको तर्फबाट नित्यृ गुरु भैरवबहादुर थापा, वरिष्ठ गीतकार किरण खरेल र वरिष्ठ संगीतकार नातीकाजी श्रेष्ठलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा आस्था कला केन्द्रबाट सहभागीहरूले तारादेवीले गाएको गीत ‘यो नेपाली शिर उचाली..’ गाएका थिए भने गायिका संगीता शाक्य थापाले तारादेवीले नै गाएको ‘नौ सय खोला तरेर जाने..’ गीत गाएकी थिइन् । त्यसैगरी, गायिका प्रसना शाक्यले तारादेवीले गाएको ‘आउ न आउ तिम्रो खुसी, म त तिम्लाई पर्खिरहुँला..’ गाएकी थिइन् भने तारादेवीले नै गाएको ‘हिमालको काखमा छ सानो मेरो गाउँ..’ गायिका गीता पाण्डेले गाएकी थिइन् ।

वि.स.२००२ माघ २ मा काठमाडौंमा जन्मिएकी गायिका तारादेवीको २०६२ को माघ ९ गते निधन भएको थियो । उनले गाएका गीतहरूमा ‘उकाली ओरालीहरूमा..’, ‘तिमीलाई हाँसेर..’, ‘कालिपारे दाइ कति राम्रो..’, ‘फूलको थुँगा..’, ‘सोचेजस्तो हुन्न जीवन..’ लगायतका गीतहरू लोकप्रिय छन् ।

सम्बन्धित समाचार