लेसोथोका प्रधानमन्त्रीमाथि पत्नि हत्या अभियोगमा अनुसन्धान भैरहेको छ । ८० वर्षे प्रधानमन्त्री थोमस थाबाने र उनकी ४२ वर्षे वर्तमान पत्नी मेसिया थाबाने दुवै अहिले थोमसकी पहिली पत्नी लिपोलेलो थाबानेको हत्या अनुसन्धानमा मुछिएका छन् ।
लिपोलेलो सन् २०१२ देखि नै पतिबाट अलग्गै बस्दै आएकी थिइन् । २०१७ मा ५८ वर्षे लिपोलेलोको हत्या भयो । साँझमा घर फर्किंदै गर्दा उनको बाटो छेकेर गोली प्रहार गरिएको थियो। त्यसको दुई दिनपछि थोमसले प्रधानमन्त्रीको शपथ लिएका थिए ।
अज्ञात समूहले उनको हत्या गरेको बताइएको थियो । तर, अहिले आएर प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनले अनेकौँ प्रश्न उठाएको छ ।
लेसोथोका प्रहरी कमिस्नरले प्रधानमन्त्री थाबानेलाई लेखेका छन्, ‘हत्याको घटना भएको स्थानबाट एउटा सेल फोनमा कुराकानी भएको खुल्न आएको छ । र, त्यो सेलफोन तपाईंको हो ।’
प्रधानमन्त्री पत्नी मेसिया भने दुई सातादेखि बेपत्ता छिन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। हत्या गरिएकी लिपोलेलो र प्रधानमन्त्रीबीच सम्बन्धविच्छेद पनि टुंगिएको छैन।
संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको लेसोथोको क्षेत्रफल ३० हजार ३५५ वर्ग किमि छ।