उमेर चार महिनाको भयो । भारी जीउ हाँसको जस्तै चाल छ । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चाहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना दिनहरु काटिरहेको छ । गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरापालकको छ । “यो भाले परीक्षणका लागि लामो समय पालिएको हो”, फार्मका सञ्चालक विजय शर्माले भन्नुभयो, “अब यो धेरै समय यहाँ रहँदैन होला ।” ‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उनको भनाइ छ । उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहले भाले निरोग छ ।
“भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा छु”, शर्माले भने । उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य रु तीन हजार २०० पर्छ । बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् । कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ । नाफा घाटा हेर्दा बुढोहुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । पैँतालीस दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । पैँतालीसदेखि ६० दिनभित्र कुखुरा बेच्नयोग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु छ देखि आठ महिनासम्म हुने बताइन्छ ।
शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा छन् । घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । उनलाई व्यवसायमा श्रीमती गीताको दरिलो साथ छ । “१६ वर्ष भयो कुखुरापालनमा लागेको, रु ४५ हजारबाट शुरु गरेको लगानी अहिले रु १२ लाख बढी पुगेको छ”, गीताले भनिन् । शुरुमा घरकै सानो कोठाबाट शर्मा दम्पतीले कुखुरापालन व्यवसाय शुरु गरेको थियो । उहाँहरुले अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहनुभएको छ । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् ।
एक पटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ । कुखुरापालनसँगै शर्मा दम्पतीको मासु, किराना र खाजा पसल पनि छ ।‘फ्रेस हाउस’का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट गत आवमा रु एक लाख ९४ हजार अनुदान आएको थियो ।