चिकित्सक सन जिनचोङ विगत १० दिन देखि वुहानको एक अस्पतालमा कोरोना भाइरसका विरामीहरु उपचारमा संलग्न छन्। कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानमा दिन रात संक्रमितहरुको उपचारमा खटिएका उनले शुक्रवार श्रीमतीबाट एउटा भिडियो सन्देश प्राप्त गरे ।
भिडियोमा उनकी छोरी सन सिहावस्युले आफ्ना बाबुसँग भिडियो च्याट गरेको स्क्रिन सट देखाइएको छ । व्याकग्राउण्डमा ती बालिकाले लेखेको निबन्ध ‘मेरो बाबाका आँखा’ वाचन गरिरहेकी छन् ।
८ वर्षीया बालिकाले यो निबन्ध जाडो विदाको गृहकार्यका रुपमा लेखेकी हुन् । उनका बाबु वुहान विश्वविद्यालयको रनमिन अस्पतालमा काम गर्छन् । छोरीको निबन्ध सुनेसँगै बाबुका आँखा रसाए र आफ्नी छोरीले आफूलाई बुझेको र सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
‘मेरी छोरीलाई मैले मेरा अन्य सहकर्मीहरु पनि अग्रपंतिमा रहेको बताएँ । उनीहरुले कठिन काम गरिरहेका छन् उनीहरु म भन्दा पनि बढी खतरापूर्ण अवस्थासँग जुधिरहेका छन् । उनीहरु थप सम्मानित छन्,’ ती चिकित्सकले भनेका छन् ।
यस्तो छ छोरीको निवन्ध :
मेरो बाबाका आँखा
सन सिहावोस्यु
वर्ष ८, कक्षा ३
मेरो बुबा र मेरो भेट केही दिनदेखि भएको छैन। डरलाग्दो नोवल कोरोना भाइरसका कारण हाम्रो भेट नभएको हो र, हामीले एकअर्कालाई फोन भिडियो कल मार्फत् देख्न सक्छौँ। मेरा बुबा कुनै सैनिक नभए पनि, उहाँ सेतो ‘लडाकु’ पोशाकमा भाइरस विरुद्धको लडाई लडिरहनु भएको छ ।
मेरो बुबाले मलाई भन्नुभएको छ कि उहाँको लागि रणभूमि भनेको अस्पतालको वार्ड नै हो र, उहाँ सम्भव भएसम्म धेरै संक्रमितहरुको रक्षा र दायित्वले बाँधिएर लडाई लडिरहनु भएको छ ।
आज मैले फेरि उहाँसँग च्याट गरे । उहाँलाई मैले निलो मेडिकल क्याप र पारदर्शी चश्मा लगाएको देखेँ। उहाँका नाक र मुख पूरै बाक्लो सेतो मास्कले ढाकिएका थिए । मैले पारदर्शी चश्माबाट उहाँका आँखा मात्र देख्न पाएँ। ती आँखा प्रेम, आँशु, शक्ति र साहस भरिएका थिए ।
मलाई थाह छ उहाँ एउटा खतरनाक परिस्थितिमा हुनुहुन्छ । तर पनि उहाँका आँखा हेर्दा लाग्छ कि तिनले भनिरहेका छन्, ‘म आराम छु ।’