ट्रम्पले महाअभियोगबाट सफाइ पाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।

विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले गएको डिसेम्बरमा महाअभियोग लगाए पनि ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटले सफाइ दिएको बीबीसीले उल्लेख गरेको छ ।



माथिल्लो सदन सिनेटमा भएको बहसपछि बुधबार भएको मतदानमा ट्रम्क्पले महाअभियोगबाट सफाइ पाएका हुन् । शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मतले ट्रम्पले सफाइ पाए । यस्तै संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् ।

सिनेटमा बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औं राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । दुई अभियोग मध्ये एकमा पनि सिनेट मार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थियो र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो ।

तल्लो सदनले गएको डिसेम्बर १८ मा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मत दिएको थियो । तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनको नियन्त्रण भएकाले महाअभियोगमार्फत ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउने डेमोक्र्याटको प्रयास विफल भयो । १ सय सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् । महाभियोग पारित हुनका लागि दुई तिहाई बहुमत चाहिन्थ्यो ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप थियो । युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि थियो ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ । ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्वअमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन शुरु गर्न आग्रह गरेका थिए ।

त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप थियो । तर ट्रम्पले लगातार आफूले कुनै गलत काम नगरेको बताउँदै आएका थिए ।

ट्रम्प आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा जाँदैछन् । उनी महाअभियोगको सामना गरेर पुनः चुनावमा जाने पहिलो अमेरिकी राष्ट्रपति हुन् । अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।

सम्बन्धित समाचार