अवतरणका क्रममा धावनमार्गमा विमान चिप्लिंदा ३ को मृत्यु, १ सय ५० जना घाइते (भिडियोसहित)

टर्कीमा एक विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ । विमान दुर्घटनामा करिब १५० यात्रु घाइते भएका छन् ।

इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिँदा दुर्घटना भएको हो । इस्तानबुलस्थित विमानस्थलमा अवतरणका क्रममा पिगासस एयरलाइन्सको जेट विमान धावनमार्गबाट चिप्लिएको थियो । चालक दलका ६ सदस्यसहित विमानमा १७१ यात्री सवार थिए ।



पिगासस एयरलाइन्सले दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ । सो एयरलाइन्सले ट्वीट गर्दै यसको जानकारी दिएको हो । टर्किस मिडियाका अनुसार विमानमा सवार अधिकांश टर्कीकै नागरिक छन् । उक्त विमानमा सवार यात्रुमध्ये २० जना विदेशी रहेको बताइएको छ ।

इस्तानबुलका गभर्नर अली यर्लिकायाका अनुसार दुर्भाग्यवस उक्त विमानले रनवे छाड्यो र चिप्लिएर ५० देखि ६० मिटर पर पुगेको थियो ।

धावनमार्गबाट चिप्लिएको विमान तीन टुक्रामा विभाजित भएको छ । उक्त विमान प्रतिकुल मौसमका बाबजुद अवतरण गरिरहेको समयमा उक्त दुर्घटना भएको अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार हुरीसहित भारी वर्षा भइरहेको समयमा विमान अवतरण गर्दै थियो ।

दुर्घटनापछि सार्वजनिक भिडियो फुटेजमा विमानको एउटा भागबाट यात्रीहरु निस्किँदै गरेको र उद्धारकर्मीहरु उद्धारमा जुटिरहेको देखिन्छ ।

सम्बन्धित समाचार