चर्चित हलिउड अभिनेता किर्क डगलसको निधन

हलिउड अभिनेता किर्क डगलसको १ सय ३ वर्षको उमेरमा निधन भएको छ ।

‘स्पार्टकस’ र ‘पाथ्स अफ् ग्लोरी’ का अभिनेता तथा माइकल डगलसका पिता किर्क सन् १९४० मा निकै चर्चित भएका थिए ।



उनले आफ्नो करिअरमा झण्डै सय वटा फिल्ममा अभिनय गरे । तर पछि हृदयाघातका कारण उनले चलचित्र उद्योग नै छोड्नु परेको थियो ।

अस्कर विजेता अभिनेता तथा चलचित्र निर्माता माइकल डगलसले किर्क डगलसको निधनको पुष्टि गर्दै फेसबुकमा लेखेका छन्, ‘किर्क डगलसको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । विश्वको लागि उनी एक लेजेण्ड अभिनेता थिए र सधैँ रहिरहनेछन् ।’

स्टेज र पर्दाका अभिनेता किर्क कौशलपूर्ण फरक–फरक चरित्रमा अभिनय गर्न माहिर थिए । सन् १९१६ मा न्यु योर्कमा जन्मिएका किर्क सन् १९६० मा ‘स्पार्टकस’ मा प्रमुख पात्रको अभिनयका कारण चर्चामा आएका थिए ।

सन् १९४९ मा अस्करका लागि मनोनित भएका किर्कले आफ्नो करियरलाई हलिउडको चलचित्रकै ‘स्वर्ण युग’ को रुपमा चिनाउन सफल भएका थिए ।

उनको निधनलाई लिएर विश्वभरका अभिनेता तथा कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार