क्रिस्टियानो रोनाल्डोले आफ्नो ३५ औ जन्मदिन बुधबार मनाएका छन् ।
विश्व फुटबलमा पछिल्लो १० बर्ष भन्दा बढी हरेक दिन चर्चामा रहेका रोनाल्डोले आफ्नो ३५ औ जन्मदिनका अवसरमा क्यानल ११ च्यानलसँग कुरा गर्दै ३५ बर्षमा आफु पोर्चुगलको माडेरियामा फिसरम्यान हुन्छु होला भन्ने सोचेको बताएका छन् ।
आफ्नो फुटबल क्यारियर बारे बोल्दै रोनाल्डोले आफु प्रोफेशनल फुटबलर हुन्छु भनेर नसोचेको बताए । उनले भने, ‘मेरो दिमागमा म प्रोफेशनल फुटबलर बन्छु भनेर कहिल्लै आएन । मैले अहिले जति हासिल गरेको छु यो सब गर्न सकिन्छ भनेर सोचेको पनि थिइन् ।’
पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोले युभेन्टसबाट अहिले खेलिरह्दा फेरी च्याम्पियन्स लिग जित्न सकिन्छ भन्ने आशा रहेको बताए । उनले भने, ‘हामीलाई थाहा छ यो मुश्किल काम हो । यो धेरै कुरामा निर्भर गर्छ । तर हामि राम्रो टिम भएकाले यो सम्भव छ । हामीले एक एक स्टेप गरेर अगाडी बढ्नु पर्छ ।’
उनको क्यारियरको उत्कृष्ट गोलको बारेमा सोधिएको प्रश्नमा रोनाल्डोले २०१८ को च्याम्पियन्स लिगको क्वाटरफाइनलमा युभेन्टसविरुद्धको खेलमा गरेको बाइस्कल गोललाई रोजेका थिए । उनले सो सबैभन्दा मुश्किल गोल भएको बताए ।
हाल युभेन्टसबाट उच्च फर्मका साथ खेलिरहेका रोनाल्डोले सिरी ए मा आफ्नो ५० गोल हालै पुरा गरेका छन् ।