न्युजील्याण्डले एकदिवसीय सिरिजमा भारतलाई लगातार दुई खेलमा पराजित गरेर सिरिज आफ्नो नाममा गर्यो । अब सिरिजको अन्तिम खेल ११ फेब्रुअरीमा खेल्ने छ ।
दोस्रो खेलमा ५५ रनको पारी खेलेर पनि रविन्द्र जडेजाले भारतलाई जित भने दिलाउन सकेनन् । तर उनले एकदिवसीय क्रिकेटमा एउटा किर्तिमान भने आफ्नो नाममा राख्न सफल भएका छन् ।
जडेजाले यस खेलमा बनाएको अर्धशतक भारतबाट सातौ नम्बरमा ब्याटिंग गरेर बनाएको सातौ अर्धशतक हो । उनले यो अर्धशतक बनाएसँगै भारतबाट सातौ नम्बरमा ब्याटिंग गरेर अहिलेसम्मकै धेरै अर्धशतक बनाउने किर्तिमान बनाएका छन् ।
यो किर्तिमान यस अघि भारतका पुर्व कप्तानद्वय महेन्द्र सिंह धोनी र कपिलदेवको नाममा रहेको थियो । दुवैले सात नम्बरबाट ब्याटिंग गरेर ६-६ अर्धशतक बनाएका थिए ।
टी-२० सिरिजमा ५-० ले हारेको न्युजील्याण्डले ३ खेलको एकदिवसीय सिरिजमा २-० ले जित हासिल गरेको छ । अब भारत र न्युजील्याण्ड अन्तिम एकदिवसीय खेलपछि २ खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।