अमेरिकन आइडलमा नेपाली युवा (भिडियाे सहित)

‘अमेरिकी सपना’ लिएर पाँच वर्षअघि अमेरिका पुगेका एक नेपाली युवाले सपनाको मार्गमा आकर्षक यात्रा थालेका छन् । दिवेश पोखरेल हाल अमेरिकाको कान्सास राज्यमा बस्दै आएका छन् ।

काठमाडौँमा हुर्किएका उनी संगीत कर्ममा छन् । आफूलाई सांगीतिक क्षेत्रमा ‘आर्थर गन’ रुपमा चिनाउने उनी अमेरिकन आइडलको १८ सिजनमा छनौट भएका छन् । सांगीतिक क्षेत्रमा नयाँ प्रतिभाहरुको खोजी गर्ने अमेरिकन आइडलको अडिसनमा उनले प्रतिष्ठित संगीतकर्मी केटी पेरी, ल्युक ब्रायन तथा लियोनल रिची सामु प्रस्तुति दिएका हुन् । दिवेशले सुरुमा बब डेलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ बोलको गीत गाए ।



त्यसपछि निर्णायकका रुपमा बसेका लियोनलले अर्को गीत गाउन भने । दिवेशले क्रिडेन्स क्लियरवाटरको ‘ह्याव यू एभर सिन द रेन’ बोलको गीत गाए ।

सुरुमा दिवेशले नमस्ते भन्दा नमस्ते नै फर्काएकी गायिका केटी पेरीले उनको नामको अर्थ सोधेकी थिइन् । दिवेशले नामको अर्थ भने–‘प्रकाश’ । पेरीले ‘मे बी यु आर दि बेस्टे’ भनेकी थिइन् ।

दिवेशले गाएका दुवै गीत सुनेपछि पेरीले भनिन्, ‘ही इज दि बेस्ट’ । अमेरिकन टेलिभिजन एबिसीमा दिवेशले दिएको अडिसन आइतबार प्रशारण भएको हो ।

अमेरिकन आइडलसम्मको यात्रा तय गर्ने क्रममा दिवेशले नेपाली गीत गाएका छन् । उनले आफ्ना गीतहरु स्टेज नेम आर्थर गन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

उनले गाएका ‘खोज’ बोलको गीतमा एक अंश छ, ‘कसले छेक्न सक्छ र उड्ने चरीलाई‘’ । दिवेशले गीतमा भनिए जस्तै अमेरिकन आइडलमा आफ्नो सपनाको उडान भरेका छन् ।

भिडियाे :

https://youtu.be/A73ELaEsQpM

सम्बन्धित समाचार