कोरोना भाइरसबाट चीनको वुहान शहरस्थित एक अस्पतालका प्रमुखको ज्यान गएको छ । मंगलबार वुहान वुचाङ अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक लिउ झिमिङको ज्यान गएको हो । नयाँ भाइरसका कारण ज्यान गुमाउनेमा उनी दोस्रो चिकित्सक हुन् ।
लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए । संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो । कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो । अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे । उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ ।
यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो। ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए ।
कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।