जिल्ला न्यायाधीशको गोली हानी हत्या

अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् ।

हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकुको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए । प्रान्तीय सरकारका अनुसार तालिबान लडाकु समूहले हिंसात्मक कारवाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएको जनाएको छ ।



केही दिनअघिमात्रै अमेरिकासँग कतारको राजधानी दोहामा अमेरिकासँग तालिबानले गरेको सम्झौतामा एक साताका लागि हिंसात्मक कारवाही अन्त्य गर्ने सहमति बनेको थियो । यही साता अफगानिस्तान कै कन्दहार प्रान्तको डण्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए ।

अफगान स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८ सय भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९ सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

सम्बन्धित समाचार