चिनियाँ युवकको कारुणिक कथा : प्राण जानुभन्दाअघि मात्रै हजुरबुवाले शैया पाउनुभयो

कोभिड-१९ को केन्द्रबिन्दु मानिएको वुहान सहरमा तीव्र गतिमा भाइरस फैलिरहेका बेला अस्पतालमा शैयाको अभाव देखिएको छ । कतिपय बिरामीले उपचार पाएका छैनन् ।

बिरामीको चाप रहेको वुहानमा त्यहाँका एक युवकले आफ्ना हजुरबुवाका लागि अस्पतालमा शैया पाउन अथक प्रयासको कारुणिक कथा यस प्रकार छ ।



‘हजुरबुवा, शान्तिसँग बस्नुहोला’ – जिआओ हुआङ

बाल्यकालमै आमाबुवाको निधन भएपछि हुआङलाई उनका हजुरबुवा र हजुरआमाले पालनपोषण गरेका थिए । ८० वसन्त पार गरेका हजुरबुवा र हजुरआमाको सेवा गर्ने हुआङको एक मात्र इच्छा थियो । उनीहरूले अवकाशको जीवन राम्रोसँग बिताउन पाऊन् भन्ने उनलाई लाग्थ्यो । तर मात्र १५ दिनमै कोरोनाभाइरसका कारण उनका हजुरबुवाको निधन भयो र हजुरआमा अहिले गम्भीर अवस्थामा छिन् ।

हुआङका हजुरबुवा र हजुरआमालाई ज्यानवरी २० मा श्वासप्रश्वासको समस्या देखियो । सार्वजनिक यातायात ठप्प गरिएकोले उनीहरूलाई अस्पतालसम्म पुग्न निकै गाह्रो भयो । उनीहरू भाइरस संक्रमण भएको कुरा ज्यानवरी २९ थाहा भयो । तर त्यसको तीन दिनपछि मात्रै उनीहरू अस्पतालमा भर्ना हुन पाए । अस्पताल बिरामीले खचाखच थियो । त्यहाँ कुनै शय्या खाली थिएन। उनका हजुरबुवा र हजुरआमालाई उच्च ज्वरो थियो र सास फेर्न गाह्रो भइरहेको थियो । उनीहरूले करिडोरमा बस्ने ठाउँ पाए ।

हुआङले अस्पतालका कर्मचारीलाई हारगुहार गरेपछि एउटा लामो कुर्सी र दोबार्न मिल्ने एउटा शैया पाए । ‘हेर्दा चिकित्सक वा नर्स नै थिएनन ‘हुआङले आफ्नो डायरीमा लेखेका छन्, ‘चिकित्सकबिनाको अस्पताल एउटा चिहानजस्तै हुन्छ ।’

हजुरबुवा बितेको अघिल्लो रातसम्म हुआङ हजुरबुवा र हजुरआमासँगै करिडोरमा थिए । उनका हजुरबुवा अन्तिम अवस्थामा थिए । त्यो कुरा थाहा नहोस भनेर उनले हजुरआमालाई भलाकुसारी गरेर अलमल्याइरहेका थिए ।

हजुरबुवा बित्नुभन्दा तीन घण्टाअघि बल्ल उनले शैया पाएका थिए । हजुरबुवाले अन्तिम सास लिएको क्षणसम्म हुआङसँगै थिए । उनले चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखेका छन्,‘हजुरबुवा, शान्तिसँग बस्नुहोला । स्वर्गमा कुनै पीडा हुँदैन।’

अहिले उनकी हजुरआमा अस्पतालमा जीवनमरणको दोसाँधमा छिन् । हुआङ उनीसँगै बस्छ चाहन्छन् । ‘प्रभावकारी औषधि नै छैन । चिकित्सकले आशा नमार्न र उनलाई आफै ठीक हुन सक्ने बताएका छन् । उनी भन्छन्, ‘हामी केवल भाग्यको निर्णय कुर्न सक्छौँ ।’

फेब्रअरी ७ देखि जिआओ हुआङलाई पनि संचो महसुस भएको छैन । उनी एउटा होटलमा दुई हप्ताका लागि क्वारन्टीनमा छन् ।

चीनमा कोभिड १९ बाट मृत्यृ हुनेको संख्या १ हजार ८ सय ७० पुगिसकेको छ भने भाइरसबाट संक्रमित हुनेको संख्या ७२ हजार ५ सय पुगेको पुष्टि भएको छ । साथै १२ हजार ५ सय ५२ भाइरस संक्रमणबाट निको भएको चीनियाँ सिजिटियनमा उल्लेख गरिएको छ ।

बीबीसी नेपालीबाट।

सम्बन्धित समाचार